५ असार ०७४, काठमाडौं । भारतले पाकिस्तानसँग आइसीसी च्याम्पियन ट्रफीमा फराकिलो अन्तरसहित हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् ।
उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् । उनीहरुको आक्रोश क्रिकेटर बिराट कोहलीप्रति ज्यादा थियो ।
त्यतिमात्र हैन, दक्षिणी कानपुरमा केही मानिसहरुले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग बिरलै यति ठूलो हार ब्यहोरेको हुँदा पनि भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए ।
तर, भारतलाई पाकिस्तानले १८० रनको फराकिलो अन्तरले पराजित गरेपछि क्रिकेट फ्यानहरु स्तब्ध बने ।