७ फागुन ०७५, सप्तरी । नक्कली बुबा बनी ज्वाई पर्ने भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारी निवासी ५० वषीय उत्तमलाल साह रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित पतिङ्ग आधारभुत विद्यालयमा शिक्षक पदमा कार्यरत साहले भारत विहार राज्यको लौकही थाना नरेन्द्रपुर ग्रामपंचायत निवासी बिरेन्द्र साहलाई छोराको रुपमा झुठा विवरण प्रस्तुत गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाउन सफल भएका थिए ।
भारतीय नागरिक साह पक्राउ परेका साहको नाताले ज्वाई भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा परेको गोप्य उजुरीको आधारमा छानबिन गर्दा किर्ते नागरिकता प्रकरणको खुलासा भएको र साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।
सोमबार सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको जिल्ःला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सालनालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला
राजविराज नगरपालिका ९ स्थित बाँसघारीमा सालनालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
प्रहरीका अनुसार सोमबार सोही वडास्थित राजेन्द्र वर्माको घरपछाडी रहेको बाँसघारीमा रातो साडीमा बेरी प्लाष्टिकको झोला भित्र वेवारिसे अवस्थामा फ्यालिएको मृत नवजात शिशु (बालिका) फेला परेको हो ।
सो नवजात शिशु अवैध सम्बन्धका कारण जन्मिएको हुन सक्ने र त्यसलाई ढाकछोप गर्न यसरी बाँसघारीमा फ्याकिएको हुनेसक्ने स्थानियले अनुमान गरेका छन् ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।













