भारतीय राजदूतलाई अयोग्य घोषणा गरी फिर्ता पठाउन माग !

२७ मंसिर, काठमाडौं । युवा तथा विद्यार्थीको आठ संगठनहरुले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई अयोग्य कूटनीतिज्ञ घोषणा गरी भारत फिर्ता पठाउन माग गरेका छन् ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आइतबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई युवा संघ नेपाल, अनेरास्ववियु, नेक्राविसंघ, अनेयुसंघ, नेक्रायुसंघ, अखिल छैटौं, प्रगतिशील युवा संघ र अखिल पाँचौंले संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा राजदूत रायले केही राजनीतिक दलहरुलाई भारतीय दूतावासमा बोलाएर के कुरा मान्ने र के कुरा नमान्ने भनी निर्देशित गरेको र यो कुटनीतिक मर्यादाविपरित काम भएको उल्लेख छ ।

ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र कुटनीतिक मर्यादाभन्दा बाहिर काम गर्ने भारतीय राजदूत रञ्जित रेलाई अन्तराष्ट्रिय अभ्यासअनुसार अयोग्य कुटनीतिज्ञ करार गरी आफ्नो देश फिर्ता पठाउनुपर्ने हाम्रो माग छ ।’

उनीहरुले युरोपेली संघ र अमेरिकालगायत देशका कुटनीतिक केन्द्रले समेत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाइको मत