२९ चैत, काठमाडौं । विप्लव माओवादी निकट अखिल अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै नयाँ शैक्षिक सत्रको भर्नामा निजी विद्यालयहरुले मनपरी शुल्क असुल्न थालेको उल्लेख गर्दै भारतीय शैक्षिक संस्थाहरु खारेज गर्नुपर्ने बताएको छ ।
यसै गरी अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले चैत २९ देखि ०७३ बैशाख ५ सम्म प्रचारप्रसार गर्दै ज्ञापनपत्र र चेतावनी पत्र बुझाउने तथा बैशाख ६ गतेदेखि १५ गतेसम्म क्रियात्मक संघर्ष गर्ने बताएका छन् ।
संवाद डबलीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन भाँड्ने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध आन्दोलन गर्ने बताउँदै क्रान्तिकारीका अध्यक्ष सिंहले गत वर्ष शिक्षा मन्त्रालय, निजी शैक्षिक संगठन र विद्यार्थी संगठनहरुबीच भएको सहमति लागू गर्न सरकारसँग माग गर्दै प्याब्सन र एनप्याब्सनलाई सहमति पालना गर्न आग्रह समेत गरेका छन् ।
अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधीनतामाथि आँच पुग्ने गरी भारतीय शैक्षिक पाठ्यक्रम चलाइरहेका भारतीय शैक्षिक संस्थाहरु तत्काल खारेज गर्नुपर्ने बताएको छ ।