२५ असार ०७७, काठमाडौं । भारतीय सञ्चारमाध्यमले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार महासचिव रमेश विष्टले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी विरुद्ध कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
“भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ,” विज्ञप्तिमा भनिएको छ, “भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ ।”
भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोप्रति नेपाल पत्रकार महासंघले भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको कडा शब्दमा भर्त्सना गर्दै महासंघको विज्ञप्तिमा आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको समेत गम्भीर ध्यानाकर्षण गराइएको छ ।