१८ चैत, काठमाडौं ।
ब्रेसलमा सम्पन्न युरोपियन युनियन र भारतको शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपाल घुसाएपछि पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भुपरिवेष्ठित तथा सानो मुलुक भनेर नहेप्न भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिएका छन् ।
‘युरोपियन युनियन र भारतले आफ्नो आफ्नो कुरा गरे हुन्छ नि । नेपालका सम्वन्धमा के हेपाइ हो ?’ बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अनावयक ढंगले हाम्रो सर्वभौमसत्ता, संविधानसभाको संविधान बनाउने हक र नेपालले जनताले आफ्नो निर्णय गर्न पाउने आत्मनिर्णयलाई अबमल्यून गर्दै उपदेशको भाषामा नेपालले छिट्टै संवैधानिक समस्या समाधान गरोस् भनेको छ । कहाँ छ नेपालमा संवैधानिक समस्या ?’
नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएको र सवैधानिक विधि र लोकतान्त्रिक संस्थाबाट संविधान निर्माण गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानका बारेमा आफूलाई लोकतान्त्रिक भन्ने देशहरुले नेपाली जनताको सार्वभौमिकतालाई उपेक्षा गरी उपदेश दिन नसुहाउने बताए ।