भूकम्पपीडितलाई तेस्रो किस्ताको अनुदान वितरण सुरु

३० भदौ ०७४, काठमाडौं ।  भक्तपुरले घर पुनर्निर्माण सकाएका भूकम्पपीडितलाई तेस्रो किस्ताको एक लाख रुपैयाँ वितरण सुरु गरेको छ ।

आवास पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ (ईएचआरपी)ले पहिलो किस्ताको ५० हजार, दोस्रो किस्ताको डेढ लाख अनुदान लिई घर निर्माण सम्पन्न गरी प्राविधिक जाँच पास गराएका लाभग्राहीको खातामा तेस्रो किस्ताको रकम जम्मा गरेको हो ।
 ईएचआरपी भक्तपुरका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले मध्यपुर थिमि नगरपालिकाबाट सिफारिस भएका १९ लाभग्राहीको खातामा तेस्रो किस्ताको १९ लाख रुपैयाँ निकासा गरिएको जानकारी दिए ।

ईएचआरपी भक्तपुरका अनुसार प्राधिकरणले विभिन्न चरणमा प्रमाणीकरण गरी पठाएका २७ हजार ५ सय ९८ लाभग्राहीमध्ये निजी आवास पुनर्निर्माणका लागि बिहीबारसम्म २२ हजार एक सय ७५ जनासँग अनुदान सम्झौता भइसकेको छ । जसमध्ये २१ हजार ४ सय ८० लाभग्राहीको खातामा पहिलो किस्ताको रकम जम्मा भइसकेको छ भने ५ सय ५९ को खातामा दोस्रो किस्ताको रकम जम्मा भएको छ ।

पहिलो किस्ता पाउन लाभग्राहीले जति चासो देखाएका थिए, त्यसको अनुपातमा दोस्रो र तेस्रो किस्ता लिन उत्साह नदेखाएको  भट्ट बताउँछन् ।  दोस्रो किस्ताका लागि जिल्लाका चारवटै नगरपालिकाका एक हजार ६ सय ४२ लाभग्राहीले निवेदन दिएको भए पनि प्रमाणीकरण हुन बाँकी रहेको जनाइएको छ । लाभग्राहीको सूचीमा परेका जिल्लाका ८० दशमलव ३५ प्रतिशत भूकम्पपीडितसँग ईएचआरपी भक्तपुरले निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरिसकेको जनाएको छ ।

लाभग्राहीको सूचीमा नपरेका वास्तविक भूकम्पपीडितको पुन: जाँच तथा सर्वेक्षण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाका चार नगरपालिकामा २ हजार ६३ को पुन: जाँच र ८ सय भूकम्पपीडितको पुन: सर्वेक्षण भइरहेको छ । यसअघि लाभग्राहीको सूचीमा नपरेका र गुनासो फाराम भरेकाको पुन: जाँच, पुन: सर्वेक्षण गरिएको भट्टले बताए । जसमध्ये सूर्यविनायक नगरपालिकामा ५ सय ४८, चाँगुनारायण नगरपालिकामा ४ सय ९२, भक्तपुर नगरपालिकामा ७ सय १९ र मध्यपुर थिमि नगरपालिकामा ३ सय ४ भूकम्पपीडितको पुन: जाँच भइरहेको छ ।

लाभग्राहीको सूचीमा नपरेका र गुनासो फाराम भरेकामध्ये सूर्यविनायकमा ३ सय १४, चाँगुनारायणमा २ सय ७८ भक्तपुरमा १ सय ३१ र मध्यपुर थिमि नगरपालिकामा ७५ भूकम्प पीडितको पुन: सर्वेक्षण भइरहेको ईएचआरपीले जनाएको छ । भूकम्पपीडितको पुन: जाँच तथा पुन: सर्वेक्षणका लागि पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति (एनआरए) भक्तपुरले सामाजिक ७ जना परिचालक तथा सहजकर्ता ७ र ७ जना इञ्जिनियर गरी १४ जनालाई तालिम दिई खटाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाइको मत