भूकम्प पीडितले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति ताकियाे

३ असार ०७४, काठमाडौं । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरिएको बताएका छन् ।

भूसालले निर्देशक समितिको वैठकको निर्णय अनुसार प्राधिकरणले समय सिमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको बताएका हुन् ।

प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माण सम्बन्धी सम्पुर्ण अनुदान लिइसक्नुपर्नेछ ।

निर्धारित तालिका यस्ताे छ :

विषय समयावधि
 पहिचान भएका सवै लाभग्राहीहरुसँग अनुदान सम्झौता गरी प्रथम किस्ता प्राप्त गर्ने । २०७४ कार्तिक मसान्तभित्र
२०७३ पौष मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी घरधनीले दोस्रो किस्ता लिई सक्ने । २०७४ पौष मसान्तभित्र
२०७४ कार्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने निजी घरधनीले दोस्रो किस्ता लिई सक्ने । २०७४ चैत्र मसान्तभित्र
२०७४ पौष मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले तेस्रो किस्ता लिई सक्ने । २०७५ जेठ मसान्तभित्र
२०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले तेस्रो किस्ता लिई सक्ने । २०७५ असार मसान्त भित्र

असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम तालिका स्वीकृत गरेपछि प्राधिकरणले निजी आवास पुननिर्माणका लागि समय सिमा तोकी थप अभियानका रुपमा कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

पछिल्लो तथ्याङ्क अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरी मध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसकेपनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् ।

अनुदान लिएपनि घर पुनर्निर्माण सम्पन्न गर्ने म्याद नतोकिदा लाभग्राहीमा जहिले निर्माण शुरु गरेपनि हुन्छ भन्ने धारणा देखिएका कारण समय सिमा निर्धारण गरिएको प्राधिकरणको भनाई छ ।

तपाइको मत