११ माघ ०७५, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव जगत सिंखडाले भेनेजुएलामा विकसित पछिल्लो घटनाक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
तीन नम्बर प्रदेशका सांसद समेत रहेका महासचिव सिंखडाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुएलाको पछिल्लो घटनाक्रमप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘भेनेजुएलामा पछिल्लो समय विकसित भएको घटनाक्रमप्रति अखिल नेपाल ट्रेड युनियन महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो विश्वमाथि अमेरिकी हस्तक्षेपको ऐतिहासिक श्रृंखलाको निरन्तरताकै उत्कर्षमा अभिव्यक्त उक्त घटनामा हामी प्रजातान्त्रिक ढंगले निर्वाचित हुनुभएका राष्ट्रपति निकोलस मदुुरो, भेनेजुएलाको अखण्डता र सार्वभौमसत्ताको पक्षमा स्पष्ट मत राख्न चाहन्छौं ।’
अमेरिकाले सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलामा प्रजातान्त्रिक प्रक्रियाद्वारा चुनिएको राष्ट्रपतिविरूद्ध कठपुतली खडा गरेर सडकबाटै राष्ट्रपति घोषणा गर्न लगाउने र समर्थन गर्ने घटनाले प्रजातान्त्रिक प्रक्रियाको उपहास भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गुएइदो अन्तरिम राष्ट्रपति घोषणा
भेनेजुएलाको राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी त्यहाँका राष्ट्रिय सभाका विपक्षी नेता हुँवा गुएइदोले आफूलाई मुलुकको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका छन् । गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गरेका छन् ।
गतवर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अवैध घोषणा गरेका थिए ।
अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश
राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिएका छन् । भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ । यद्यपि, राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन् ।
भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन सङ्कटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपिरहेको मदुरोको शासनका विरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए । नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।














