२ साउन०७५, काठमाडौं । नेपाल चिकित्सक संघले बिहीबार देशभरको आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले देशभरका स्वास्थ्यकर्मीको आवाज एक दिनमा सुने त्यसमा आन्दोलन स्थगित गर्न तयार हुने तर सरकारले नसुने अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने बताए ।
डा. केसीले सरकारले हालै संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने अडानमा सहित गत १९ दिनदेखि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरन छन् ।
सरकारले सोमबार साँझ डा. केसीका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । डा. केसीका प्रतिनिधि र टोलीबीच दुई पटक अनौपचारिक छलफल भएपनि सहमति भएको छैन ।