भोलि राति १२ बजेदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी

२ भदौ ०७७, काठमाडौं । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा भोलि (बुधबार) मध्यरातिदेखि निषेधाज्ञा जारी हुने भएको छ ।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको संयुक्त बैठकले एक हप्ताका लागि भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकले औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहिर निस्कन रोक नलगाइएको तर बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन भनेको छ ।

यातायातका सवारी साधन सञ्चालनका सम्बन्धमा अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारीलाई रोक लगाइएको छ ।