२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा ‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित शनिबार राजधानीमा प्रदर्शन गरिँदैछ ।

प्राधिकरण का.नि. कुलमान घिसिङ
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएका घिसिङका विरोधीहरुले उनकोविरुद्ध षडयन्त्र गरिरहेको र देशलाई पुनः अन्धकारमा धकेल्ने चलखेल भइरहेका बेला घिसिङ्गको समर्थनमा र्यालीसहित प्रदर्शन गर्न लागिएको हो ।
उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली दलको व्यवस्थापनमा र्यालीसहित गर्न लागिएको प्रदर्शन दिउँसो एक बजेपछि सुरु हुने बताइएको छ । र्याली भृकुटी मण्डपबाट खुल्लामञ्च जाने र विशेष साँस्कृतिक कार्यक्रममा परिणत हुने विवेकशील नेपाली दलका राजन अधिकारीले जानकारी दिएका छन् ।
ऊर्जा मन्त्रालयले यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा पुर्याएको भन्दै विद्युत प्राधिकरणका तीन जना सञ्चालक लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेसँग स्पष्टिकरण मागेको थियो ।