२३ मंसिर ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१९ मनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाहलमा आयोजित विशेष कार्यक्रममा ‘भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’ भन्ने मूलनाराका सा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१९ मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति २०७६ /७७–२०८/८१ समेत विमोचन गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले आयोगको कामको प्रशंसा गर्दै भ्रष्टाचार नियन्त्रण तथा रोकथाम र सचेतना अभिवृद्धिमा आयोगले उल्लेख्य कार्य गरेको महसुस सरकारलाई भएको बताए ।उनले कुनै पनि तह वा पदका राजनीतिक व्यक्तित्वहरु भ्रष्टाचारजन्य कार्यमा संलग्न भएमा राजनीतिक नेतृत्वले कुनै पनि किसिमको संरक्षण नगर्ने भन्दै राजनीतिको संरक्षणमा हुने गरेको भनिएको भ्रष्टाचारले कुनै पनि छुट नपाउने सरकारको स्पष्ट धारणा रहेको जानकारी गराए ।
व्यक्ति, घर, परिबार र समाजबाटै असल संस्कारको विकास गर्न सके मात्र सुशासनयुक्त समाज निर्माण हुने कुरामा जोड दिँदै माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००३ प्रति नेपाल सरकारले प्रतिवद्धता जनाई महासन्धि कार्यन्वयनका लागि नीतिगत तथा संस्थागत व्यवस्थापन गर्दै आएको बताए ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेले प्रत्येक वर्ष डिसेम्बर ९ का दिन मनाइने यस दिवसलाई भ्रष्टाचार बिरुद्धको ऊर्जा नवीकरण गर्ने दिनको संज्ञा दिँदै आयोगको २९ वर्षको इतिहासमा अघिल्लो वर्षलाई मुद्दा दायर र अदालतको फैसलामा आयोगले पाएको सफलताको आधारमा सफलतम वर्षका रूपमा हेरिएको जानकारी दिए ।
कार्यक्रममा उनले आयोगबाट सञ्चालित ‘स्टिङ अपरेशन’ र (यापिड टाक्स फोर्स’ को प्रारम्भिक परिणामबाट मुलुकको प्रशासनको आन्तरिक अवस्था सन्तोषजनक नभएकाले आयोगले भ्रष्टाचारलाई साना ठूला नभनी मूल्यको आधारमा जुनसुकै तह वा स्तरको भ्रष्टाचारलाई कानूनी दायरामा ल्याइने बताए ।













