भ्रष्टाचार मुद्दामा अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक दोषी ठहर

२८ पुस ०७९, काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई दोषी ठहर गरेको छ ।

अदालतले ७८ लाख रुपैयाँ घुस लेनदेनमा पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपानेलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई ३ वर्ष ३ महिना कैद र ३९ लाख जरिवाना तथा न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

पाठक सरकारी ओहोदामा रहेर भ्रष्ट्राचार गरेका कारण उनलाई थप ३ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।