भ्रष्टाचार र अनियमिततालाई निश्कर्षमा पु-याउन शेखर कोइरालाको जोड

५ साउन ०८०, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार र अनियमितता प्रकरणलाई निश्कर्षमा पु-याउनु पर्ने बताएका छन् ।

बुधबार ललितपुरमा लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद कि राष्ट्रप्रेम पुस्तक विमोचन कार्यक्रममा कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्डलगायत प्रकरण निश्कर्षमा पु-याउन नसके देश अप्ठयारोमा पुग्ने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘नक्कली भूटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी यिनीहरुलाई निचोडमा पु-याउन सकेनौँ भने अफ्ठ्यारो परिस्थितिमा हामी पुग्छौँ ।’

अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिइयो भने दण्डहीनता बढ्ने बताउँदै उनले हालै सरकारले राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिने गरी प्रतिनिधिसभामा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकको विरोध गरे ।