मंसिर ७ गते निषेधित क्षेत्र, निषेधाज्ञा तोड्दैनौं – ओली

२ मंसिर ०८०, ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनले फोहोर मात्र हुने बताउँदै आफ्ना पार्टीको युवा-विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न भनेका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एउटा कसैकसै व्यक्तिलाई प्रतिक्रियावादी शक्तिहरु देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न जोडतोडले लागेका छन् तर ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’, ओलीले भने, ‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं ।’

आन्दोलनका लागि सरकारले स्थल विशेष तोक्यो भने आफूहरु त्यही स्थल विशेषमा केन्द्रित हुने भन्दै उनले भने, ‘जुन रुट सरकारले भन्छ, त्यो रुटमा हामी चल्न सक्छौं, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।’

ओलीले उक्त कार्यक्रममा दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताएका हुन् ।

दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ भने नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यसैदिन प्रदर्शन कार्यक्रम राखेको छ ।