१२ भदौ ०७७, काठमाडौं । अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुमबहादर रेग्मी ‘किरण’ले देशको अर्थतन्त्र सुदृढ गर्ने हो भने सरकर र रोजगारदाताले उद्योगधन्दा, कल–कारखानामा काम गर्ने मजदुरहरुको सही व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
कोरोना महामारीसँगै उद्योगधन्दाहरु अधिकांश बन्द रहेको र चलेका सीमित उद्योगहरुमा समेत मजदुरहरुको सही व्यवस्थान नहुँदा अर्थतन्त्र नै ओरोलो लागेको भन्दै अध्यक्ष किरणले सरकार र रोजगारदाताले मजदुरहरूको सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारले ताकेको मापदण्डअनुसार रोजगारदाताहरुले श्रम क्षेत्रमा रहेका श्रमिकहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध नगराउँदा औधोगोकि क्षेत्र लगायतका उद्योगधन्दा र कलकारखानाहरुमा काम गर्ने मजदुरहरु पूर्णतः असुरक्षित रहेको उनले बताए ।
सरकार र रोजगारदाताले श्रममा रहेका सम्पूर्ण मजदुरहरुको पीसीआर परीक्षण गराएर समुदायमास्तरमा हुनसक्ने थप संक्रमण र जोखिमलाई रोक्न पहल लिनुपर्ने भन्दै अध्यक्ष किरणले पछिल्लो समय औधोगिक क्षेत्रमा कार्यरत मजदुरहरूलाई कोरोना संक्रमण पुष्टि भएको तथ्याङ्क बढिरहेको बताए ।
उनले बालाजु औधोगिक क्षेत्र लगायतका देशभरका विभन्न उद्योगधन्दामा कार्यरत श्रमिकहरुमध्ये केहीलाई कोरोना पुष्टि भएको विवरणहरू आइरहेको रहेको भन्दै उनले संघ, प्रदेश सरकार साथै स्थानीय तहले विशेष सर्तकता, सचेतता अपनाउन र आवश्यक पहलकदमी गुमाउन नहुने बताए ।
यस्तै विभिन्न औधोगिक प्रतिष्ठानहरूले कतै श्रम ऐनको दफा १४५ दुरुपयोग त कतै कोरोनालाई कारण बनाएर मजदुर निश्कासन गर्नेक्रम नरोकिएको भन्दै अध्यक्ष किरणले सम्पूर्ण रोजगारदाताको दालभात र मुनाफाको मूल स्रोत आम श्रमजीवी मजदुरहरू भएकाले उनीहरुको इमानदारिता र अप्ठ्यारोमा खेल्ने दुस्साहस नगर्न चेतावनी समेत दिएका छन् ।