श्रम क्षेत्रमा मजदुरसँगसँगै रोजगारदातालाई पनि बचाएर असल श्रम सम्बन्ध कायम गर्नु पर्दछ – जयपुरी घर्ती
१५ भदौ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका फ्र्याक्सन इन्चाार्ज जयपुरी घर्तीले कोभिड–१९ ले गर्दा श्रमजीवी मजदुरसँगसँगै रोजगारदाता पनि समस्यामा परेको भन्दै दुबै पक्षलाई बचाएर असल श्रम सम्बन्ध कायम गर्नुपर्ने बताएकी छन् ।
शनिबार महासंघसम्बद्ध पेशागत संगठनका अध्यक्षहरुसँगको भर्चुअल बैठकमा फ्र्याक्सन इन्चाार्ज जयपुरी घर्तीले कोभिड–१९का कारण हजारौं मजदुरहरुको रोजगारी गुमेको र सँगसँगै केही साना तथा मझौला उद्योग, व्यवसायहरु बन्द नै भएको साथै केहीको बन्द हुने अवस्थामा पुगेको भन्दै यस्तो बताएकी हुन् ।
“कोरोनाले गर्दा श्रम क्षेत्रमा मजदुरसँगै रोजगारदाताहरु पनि समस्यामा परेका छन् । त्यसैले मजदुरसँगसँगै रोजगारदातालाई पनि बचाएर असल श्रम सम्बन्ध कायम गर्नु दुबै पक्षको हितमा हुन्छ,” उनले भनिन् ।
यद्यपि, केही रोजगारदाताहरुले उद्योग, कलकारखाना साबिककै अवस्थामा सञ्चालन रहेता पनि श्रमिक कटौती गरेर असल श्रम सम्बन्ध कायम गर्नुभन्दा पनि कोरोनाको फाइदा उठाउन लागेको भन्दै प्रविधिको उपयोग गरेर संघर्षलाई अघि बढाउनु पर्नेमा जोड दिइन् ।
मजदुर कटौती नरोकिए कोरोनाले सृजित वातावरण सहज बन्नसाथ सशक्त संघर्ष
यसैगरी बैठकमा महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले पेशागत संगठनका अध्यक्षहरुलाई एकसाताभित्र सातै प्रदेशको औधोगिक प्रतिष्ठानहरुबाट के कति संख्यामा मजदुरहरुले रोजगारी गुमाए साथै तलब पाए, नपाएका मजदुरहरुको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका छन् ।
रोजगारदाताहरुले कोरोनालाई अवसरकारुपमा लिएर मजदुर कटौती गर्नेक्रम नरोकिएको भन्दै त्यस्ता उद्योग, कलकारखानाहरुमा कोरोनाले सृजित वातावरण सहज बन्नसाथ सशक्त संघर्ष उठाउने समेत अध्यक्ष सिम्खडाले चेतावनी दिए ।
“अखिल नेपाल ट्रेड युनियन महासंघ अहिले पनि प्रविधिको उपयोग गर्दै र कतिपय अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिजिकल्ली रुपमा समेत संघर्षमै रहेको छ । कोरोना महामारीबाट सृजित वातावरण सहज बनेपछि मजदुरका हकहित र अधिकारको लडाईंमा सशक्तरुपमा फिल्डमा उत्रने छ,” केही औधोगिक प्रतिष्ठानहरुका सञ्चालकहरुले नियतवश नै मजदुर कटौती गरिरहेकोप्रति खेद व्यक्त गर्दै उनले भने, “मजदुरको इमानदारीतालाई कमजोरीका रुपमा नसोच्न सम्पूर्ण उद्योगी साथै व्यवसायीहरुलाई चेतावनी दिन चाहन्छु ।”
महासंघको फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यतामा बसेको उक्त भर्चुअल बैठकको अध्यक्षता एवम् सञ्चालन अन्टुफ केन्द्रीय अध्यक्ष जगत सिम्खडाले गरेका थिए । साथै, सो बैठकमा महासंघसम्बद्ध पेशागत संगठनका अध्यक्षहरु भुमबहादुर रेग्मी, माधव पाण्डे, अमित लामा, पुरन्जन गिरी, राजन पाण्डे, रमेश केसी, चक्र खत्री, लक्ष्मी ढकाल, धनु दाहाल, रामचन्द्र कार्की, संगिता बानियाँ, दुर्गा प्रसाद खतिवडा, भेषराज दाहाल, शीव पोखरेल, मुक्ति दास लगायतको सहभागिता रहेको थियो ।
सो बैठकमा सबै पेशगत संगठनका अध्यक्षहरुले आ–आफ्नो पेशमा भए गरेका कार्यहरुको रिपोर्टिङ्ग, देखिएका समस्या र चुनौतीसँगसँगै महासंघले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।