२८ माघ ०७५, सिराहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम नहुने बताएका छन् ।
सोमबार सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै उनले भने, ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ, तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने भन्दै अध्यक्ष प्रचण्डले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताए ।
‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं’ उनले भने ।
उनले उद्घटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने जनचाहनाअनुरुप आफू सकारात्मक रहेको बताउँदै भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ ।’