६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीनले ठूला सम्झौता नगरोस् भन्ने दबाब दिन मधेसी नेताहरु शुक्रबार बिहानै चिनियाँ राजदूतलाई भेट्न होटल सांग्रिला पुगे ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत उ चुन्ताईलाई भेट्न बिहान ९ बजे सांग्रिला होटल पुगेका मधेसी नेताहरुलाई राजदूत उ चुन्ताईले उल्टै प्रश्न गरेपछि मोर्चाका नेताहरुले स्पष्ट जवाफ दिन सकेनन् । मधेसवादी दलका नेताहरुलाई चिनियाँ राजदूत चुन्ताइले ८० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरी बहुमतबाट पारित संविधानको विरोध गर्ने क्रममा तपाईहरुले चिनियाँ झण्डा किन जलाउनु भयो ? यसको कारण के हो ? भनेर प्रश्न गरेपछि मधेसी मोर्चाका नेताहरुले स्पष्ट जवाफ दिन सकेनन् । उनीहरुले नियतबस झण्डा नजलाएको तर आन्दोलनमा घुसपैठ भएकाले घटना भएको भनेर चोखिन खोजेका थिए ।
राजदूत चुन्ताइले भेटवार्तामा ओली सरकारले अधिकार माग्ने जनतालाई दमन गरेको र संविधानमा मधेसी जनताका अधिकार कटौति गरेको भन्दै दुई पेजको ११ बुँदे ज्ञापन पत्र बुझाएका मोर्चाका नेताहरुको कुरा सुनेपछि मात्रै चिनियाँ राजदूतले मधेसवादी नेताहरुलाई झण्डा जलाउनुको कारण सोधेका थिए ।