मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रथम नगर परिषद् शुरु

३१ असार ०७४, भक्तपुर । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले आफ्नो प्रथम नगर परिषद् शुरु गरेका छन् ।

स्थानीय सरकारको झल्को दिने शैलीमा चाँगुनारायण नगरपालिकाले शुक्रबारदेखि आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

‘सुशासनयुक्त, सक्षम, समृद्ध स्थानीय सरकारः पर्यटन, संस्कृति, सम्पदा चाँगुनारायणको आधार’ भन्ने नाराका साथ शुरु भएको परिषद्मा नगर प्रमुख सोम मिश्रले रु ५७ करोड १२ लाख २८ हजारको बजेट सार्वजनिक गरे ।

परिषद्ले एक वर्षभित्र आफ्नै भवन निर्माण गर्ने, पर्यटकीय क्षेत्रमा इलाइबे्ररी र फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रका सडक सञ्जालमा सबै नगरवासीको पहुँच पुर्याउनेलगायत कार्यक्रम अघि सारेको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले रु ७३ करोड ९८ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले रु. १७ करोड ६५ लाखको चालु खर्च र रु ५६ करोड ३३ लाखको पूँजीगत खर्च गर्ने गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

परिषद्ले सांस्कृतिक तथा सम्पदायुक्त घना बस्तीको संरक्षण गर्ने, मनोहरा र हनुमन्ते खोलाको अतिक्रमण रोकी हरियाली क्षेत्रसहितको चक्रपथ निर्माण गर्ने, कलासंस्कृतिलाई एकीकृत गरी नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गर्नेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ ।

तपाइको मत