मन्त्रिपरिषदको निर्णय : प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने

५ भदौ ०७४, काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरी मिति तोकेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी मंसिर १० गते प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरी मिति तोकेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले बैठकको निर्णय निर्वाचन आयोगलाई जानकारी दिने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना सन्धि-सम्झौता पुनरावलोकन गरिने 

यसैगरी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबार हुने भारत भ्रमणका एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री देउवाको राजकीय भ्रमणका क्रममा पुराना सन्धि-सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत विभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गरिने छ ।

त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैया ५० करोड अहिलेसम्म उपलब्ध नगराइएको बारेमा कुरा उठाइने भएको छ ।

भ्रमणका क्रममा पञ्चेश्वर वहुउद्देश्यि आयोजनाको बारेमा छलफल हुनुको साथै सन् १९५० को सन्धिका असर र प्रभाव तथा दुईपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशिय रेल सेवा सञ्चालन, वाणिज्य व्यापार तथा लगानी लगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी भूकम्प पुर्ननिर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम अहिलेसम्म उपलब्ध नगराएकाले ध्यानाकर्षण गराइने जानकारी दिइएको छ ।

 

तपाइको मत