२२ साउन ०७५, राजविराज । प्रदेश –२ सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले मलेठ घटनाका दोषीलाई कारवाही गर्ने बताएको छ ।
मंगलबार मलेठ घटनाका सहिद, घाइते परिवारजन र स्थानीयसँगको भेटघाटपछि समितिले मलेठ घटनाका दोषीलाई कारवाही हुने बताएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको छानविन र त्यसपछि सार्वजनिक प्रतिवेदन एकपक्षीय भएकाले निष्पक्ष छानविनका लागि प्रदेश सरकारले आफूहरुलाई जिम्मेवारी दिएको बताउँदै समितिका संयोजक तथा २ नं. प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
पीडितले न्याय पाउने र दोषीमाथि कारवाही हुने बताउँदै समिति संयोजक समेत रहेका मन्त्री यादवले भने, ‘ढुक्क रहनुहोस् यो समितिले घटनाको निष्पक्ष छानविन मात्र गर्दैन, दोषीलाई कानुनी कठघरामा उभ्याउने काम पनि गर्नेछ ।’
उनले दोषीउपर कारवाहीसँगै सहिद परिवार र घाइते परिवारलाई प्रदेशमा उपलब्ध स्वास्थ्य, शिक्षालगायत अन्य सुविधा पनि उपलव्ध गराइने पनि बताए ।
मलेठ पुगेका समिति समक्ष सहिद र घाइते परिवाजनले उच्चस्तरीय छानबिन समितिले नरसंहार मच्याउन निर्देशन दिने सुरक्षा अधिकारी र सङ्लग्न प्रहरीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।
मलेठ घटनामा २०७३ फागुन २३ गते प्रहरीको गोली लागेर ५ जनाको ज्यान गएको थियो भने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका थिए ।