२१ साउन ०७५, राजविराज । दुई वर्ष अघि तत्कालिन नेकपा एमाले र मधेश केन्द्रित दलका कार्यकर्ताबीच सप्तरीको मलेठमा भएको घटनाबारे सत्यतथ्य छानविन गर्न प्रदेश सरकारको उच्च स्तरीय छानविन समिति गठन गरेको छ ।
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविन प्रतिवेदन एकपक्षीय भएकाले मान्य नहुने भन्दै प्रदेश २ का सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई सदस्य रहने गरी छानविन समिति गठन गरेको हो ।
समितिको सदस्य सविचमा मुख्य न्यायधिवक्ता कार्यालयका उप न्यायधिवक्ता कृष्ण प्रसाद बराल सदस्य सचिव छन । समितिले घटनाको स्थलगत छानविन गरी १५ दिन भित्र मन्त्री परिषद्को कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको संयोजक यादवले बताए ।
एमालेले मेची–महाकाली अभियान अन्तर्गत २०७३ फागनु २३ गते सप्तरीको मलेठ (हाल राजविराज नगरपालिका ९)मा सभा आयोजना गर्न खोज्दा मधेश केन्द्रित दल निकटका आन्दोलनकारीले भने कुनै हालतमा सभा आयोजना गर्न नदिने अडान राखेको थियो । माहौल विपरित भएपछि एक पक्षले जसरी पनि सभा गर्ने र अर्को पक्षले गर्न नदिने सम्पूर्ण शक्ति परिचालन गर्ने हटका कारण झडपको बातावरण भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा ५ जनाको ज्यान गएको थियो ।
उक्त घटना लगत्तै राष्ट्रिय मानव अधिकार आयोगले पूर्व न्यायधिश ताहिर अलि अंसारीको संयोजकत्वमा उच्च स्तरीय छानविन समिति गठन गरेको थियो । झण्डै २ वर्ष लगाएर सो आयोगले छानविन गरी सार्वजनिक गरेको प्रतिवेदन एक पक्षिय र असत्य भएको भन्दै सप्तरीका साथै मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन हुन थालेपछि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको थियो ।
संयोजक यादवले पत्रकारहरुसँग घटनाबारे जानकारी लिने क्रममा आयोगले एकतर्फी प्रतिवेदन तयार गरेकाले सत्य तथ्य छानविनका लागि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको बताउँदै पत्रकारहरुलाई सत्यतथ्य जानकारी गराएर सहयोग गर्न अनुरोध गरे ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मलेठ घटनाको स्थलगत अध्ययन तथा छानविनका क्रममा पिडित, प्रत्यक्षदर्शी, संचारकर्मी, अधिकारकर्मी तथा सुुरक्षा निकायका पदाधिकारीसँग पनि बयान र आवश्यक जानकारी लिईने बताए ।
सामाजिक विकास मन्त्री नवल किशोर साहले राष्ट्रिय मानव अधिकार आयोगले पिडित र प्रत्यक्षदर्शीले दिएको बयान विपरित कुनै खास पार्टी र व्यक्तिलाई खुशी पार्न तयार गरेको प्रतिवेदनलाई जनताले स्वीकार गर्न नसकेकाले प्रदेश सरकारले आफै छानविन समिति गठन गरेको र चाडै सत्यतथ्य जन समक्ष सार्बजनिक हुने जानकारी दिए ।
छानविन समितिले मंगलबार विहान घटनास्थलमा पुगी पिडित परिवार तथा स्थानीयबासीलार्ई भेट्ने कार्यक्रम तय गरेको संयोजक यादवले बताए ।