महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई महाअभियोग लगाउनु पर्छ – मिश्र

१० साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

पत्नी हत्या अभियोगमा कारागारमा रहेका सशस्त्रका पूर्वडीआईजी रन्जन कोइराला छुटेपछि शनिबार माइतीघर मण्डलामा ‘न्यायका लागि साझा यात्रा’ कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले यस्तो बताएका हुन् ।

‘महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई महाअभियोग लगाउनु पर्छ,’ उनले भने, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं ।’

यस्तै मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संसदले महाअभियोग लगाएर हटाए सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनलाई अदालतको सम्मानका लागि राजीनामा दिन समेत आग्रह गरेका छन् ।

‘तपाईले गरेको निर्णय शंकाको घेरामा छ । राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनर्स्थापित गर्न सहायक सिद्ध हुन्छ’ उनले भने ।

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका रन्जन कोइरालाको बाँकी कैद मिनाहा गरेपछि कोइराला जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतले पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका कोइरालालाई जन्मकैद सजाय घटाएर साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको थियो ।