महादेवा गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा विगत माघदेखि औषधीको अभाव

२१ साउन ०७६, राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा विगत माघदेखि औषधीको अभावको कारण सेवाग्राही मर्कामा परेका छन् ।

महादेवा गाउँपालिका अन्तर्गत रहेका हेल्थपोष्ट स्वास्थ्य चौकी, स्वास्थ्य क्लिनिक लगायतको संस्थामा विगत माघदेखि नै औषधी खरिद गरी वितरण नगरेको कारण उक्त संस्थाहरुले सेवाग्राहीहरुलाई उपचार गर्न आएका बिरामीहरुलाई औषधी दिन नसकेको पकरी स्वास्थ्य चौकीका अहेव विरेन्द्र मण्डलले सञ्चारकर्मीलाई बताएका छन् ।

आफुहरुले गाउँपालिकालाई पटक पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म औषधी उपलब्ध गराउन नसकेको कारण सेवाग्राहीहरुलाई औषधी वितरण गर्न नसकेको गुनासो पोखे ।

अहेव मण्डलका अनुसार गाउँपालिकाका स्वास्थ्य संयोजक ब्रहस्पति राम र कृष्णकुमार यादवलाई पटक पटक लिखित र मौखिन जानकारी गराउँदा पनि अहिलेसम्म औषधी खरिद गर्न नसकेको कारण स्वास्थ्य चौकीहरुलाई औषधी नपठाएको बताए ।

औषधीको अभावमा विभिन्न रोगका विरामीहरुलाई जाँच गरेरमात्र पठाउने गरिएको अहेव मण्डलले बताए । यस सम्बन्धमा गाउँपालिकाको अध्यक्ष दिपक कुमार यादव र प्रमुख प्रशासकिय अधिकृत कुनन्दन कुमार कर्णलाई मोबाईलमा सम्पर्क गर्दा उनीहरुको मोबाईल स्वीचअफ गरिएको थियो ।

स्वास्थ्य संस्थाहरुमा औषधी अभावको बारेमा ने.क.पा.का स्थानिय नेता दिपेन्द्र माझी, मो. डोमन, सञ्चारकर्मी देवराम यादव समेतको टोली पुगेर स्वास्थ्य चौकीमा रहेका विभिन्न समस्याहरुको बारेमा पनि जानकारी लिएका थिए ।

पार्टी र स्वास्थ्य कार्यालयबाट हुने सेवाको लागी आफुहरुले जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित निकायमा पहल गरिने समेत बताए ।

तपाइको मत