२ भदौ ०७५, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै महिलाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
शनिबार दिउँसो जयनारी अभियानकी सावित्री सुवेदीको नेतृत्वमा महिलाहरुले कालो पेटिकोट लगाएर अर्धनग्न भई प्रदर्शन गरेका हुन् ।
उनीहरुले देशमा बढ्दो हत्या हिंसा र बलात्कारका घटनाको विरोध गर्दै शान्ति सुरक्षाको मागसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाएका थिए । महिलाको प्रदर्शनमा तेस्रो लिंगीका साथै पुरुष पनि सहभागी थिए ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी जयनारी अभियानकी सुवेदीसहित रिया भण्डारी, तेस्रो लिंगी सन्ध्या लामालाई पक्राउ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।













