२३ भदौ ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सार्वजनिक गरेको घोषणापत्रमा महिला तथा बालबालिकाका पक्षमा विभिन्न १६ बुँदाहरु प्रस्तुत गरेको छ ।
असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको संघारमा राजपाले जारी गरेको घोषणापत्रमा दाइजो प्रथालाई फौजदारी अपराधको दायरामा ल्याइने उल्लेख गरेको छ । साथै, दाइजोविरुद्ध अभियान चलाउन विना लेनदेन आदर्श विवाद गर्ने जोडीलाई २५ हजार सहायता प्रदान गर्ने समेत उसले बताएको छ ।
एकल तथा वृद्ध महिलाहरुको सामुहिक बसोबासको व्यवस्था गरिने जनाएको राजपाले महिलाविरुद्ध हुने हिंसाप्रति शून्य सहिष्णुताको नीति अपनाइने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
राजपाले बालिकाहरुका लागि १२ कक्षासम्म नि:शुल्क र उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गरिने बताएको छ ।
यसैगरी राजपा नेपालले लैंगिक आधारमा भू्रण पहिचान गरी भ्रूणहत्या गराउनेहरुलाई कठोर कानून लगाइने साथै महिलाविरुद्ध हुने ज्यादती र हिंसाविरुद्ध आत्मरक्षाका लागि विद्यालयमै मार्शल आर्ट सिकाउने प्रवन्ध गरिने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी राजपाले आफ्नो घोषणापत्रमा ‘मुस्लिम समुदायका मुद्दाहरु’ उपशीर्षक अन्तरगत ‘धर्म निरपेक्षतालाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर खबरदारी गर्ने’ भनी धर्मनिरपेक्षताको पक्षमा अडान प्रस्तुत गरेको छ ।
एमाले नेताहरुले मधेसमा दलित र महिलामाथि हुने विभेदका विषयमा मधेस केन्द्रित दलका नेताहरुले मौनता साँध्ने गरेको भन्ने आरोपलाई राजपाले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्र मार्फत खण्डन गरेको छ ।