१७ बैशाख ०७४, कञ्चनपुर । माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुई जना युवतीको उद्दार गरेको छ ।
पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले शनिबार साँझ सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्दार गरेको हो ।
माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टकाअनुसार काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नं. को बसमा लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्दार गरिएको हो ।
उद्दार गरिएकी अर्की युवतीलाई शेर्पा कपडा लगाउन भने पनि उनले नलगाएको सोधपुछमा बताएको भट्टले जानकारी दिइन् ।
२२ वर्षीया युवतीलाई भारतको बाटो हुँदै दुबई र अर्की युवतीलाई किर्गिस्तान पठाउने भन्दै दलालले काठमाडौँबाट बसमार्फत पठाएका थिए ।