माओवादीको विशेष रुपान्तरण अभियान स्थानीय सहभागितामा अघि बढ्दै

३० भदौ ०८०, ललितपुर । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ नाम दिई भदौ १६ बाट सुरुगरेको तीनमहिने अभियान विभिन्न कार्यक्रम गर्दै अघि बढिरहेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले ६ हजार ७ सय ४३ वडामा बैठक, प्रशिक्षण, विचार गोष्ठी, खेलकुद, सरसफाई लगायत कार्यक्रममार्फत् जनतामा पार्टीलाई जोड्ने प्रयत्न गरेको छ ।

पार्टी, नेता तथा कार्यकर्तामाथि जनयुद्धका सहिद, बेपत्ता, घाइते, अपांगका साथै देशभरका सबै टोलटोलमा पुगेर जनताका गुनासो लिपिबद्ध गर्दै जाने र स्वयं रुपान्तरण हुने भन्ने उक्त अभियानअन्तर्गत पार्टीको ललितपुर महानगरपालिका वडा नं. १४ ले शनिबार सरसफाई कार्यक्रम गरेको छ ।

माओवादी केन्द्र वडा नं. १४ का अध्यक्ष दुर्गा देवानले दिएको जानकारीअनुसार पार्टीको उपत्यका विशेष प्रदेश सचिवालय सदस्य एसबी थापामगरको नेतृत्वमा आज नखिपोट बसपार्कदेखि मिलनचोक, नर्सरी, उमामहेश्वर हुँदै तिखेदेवलसम्म सरसफाई गर्ने कार्य सम्पन्न गरिएको छ ।

अध्यक्ष देवानले तीनमहिने अभियानका वडा संयोजक नवराज राई साथै तेजेन्द्र राई, राम आले, युवाहरु लगायत स्थानीयको उक्त सरसफाई कार्यक्रममा सहभागिता रहेको बताए ।

नेकपा (माओवादी केन्द्र)ले देशभर स्थानीय जनताको सहभागितामा दैनिक विभिन्न कार्यक्रममार्फत् पार्टीलाई जनतासँग जोड्ने कार्यक्रम गरिरहेको छ ।