९ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले माओवादी पार्टीहरुको एकताका लागि पहल गर्ने जनादेश आफ्नो पार्टीलाई दिएको बताएका छन् । साथै उनले पार्टी एकतामा आउन पूर्व सहकर्मीहरुलाई आहृवान गरे ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादीहरुको एकतामा जोड दिएका हुन् ।
पार्टी बैठकले समेत एकताका लागि आहृवान गरेको बताउँदै उनले भने, ‘अब पनि बाहिर बस्नु भनेको राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलनप्रति नै घात हुन्छ ।’ उनले अघि भने, ‘अब सँगै बसौं, समिक्षा गरौं र बाँकी दिनको खाका पनि सँगै कोरौं ।’
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले एकताका लागि आहृवान गरेपछि वैद्य माओवादी, नयाँ शक्ति र विप्लव समूहमा पनि सकारात्मक बहस सुरु भएको दाबी समेत गरे ।
उनले मुलुकमा अहिले अन्धराष्ट्रवाद, संशोधनवाद र अवसरवादको बोलवाला रहेको बताए । चुनावी परिणामले पनि त्यही देखाएको भन्दै प्रचण्डले माओवादी एक हुने र संकल्प गरेर जनतामा जाने हो भने देशको नेतृत्व लिन सक्ने आधार विद्यमान रहेको बताए ।प्रचण्डले मुलुकमा विद्यामान पार्टीहरुमा धेरै कार्यकर्ता माओवादीकै रहेको भन्दै अब नेतातिर होइन, जनतातिर फर्कनु पर्ने बताए ।