८ साउन ०७४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताका लागि आग्रह गरेका छन् ।
माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा निर्णयहरु सार्वजनिक गर्न पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले सबै माओवादीका घटकहरुलाई एकता प्रक्रियामा आउन आग्रह गरेका हुन् ।
बैठकले पार्टी एकता, मुख्यतःडा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव समेतलाई एकता प्रक्रियामा आउन आह्वान गर्ने निर्णय गरेको प्रचण्डले बताए । शहीदका सपना र परिवर्तनका मुद्दालाई अघि बढाउन सबैले सोच्नुपर्ने दिन आइसकेको प्रचण्डले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साउन २ गतेदेखि जारी पार्टी सचिवालय शनिबार टुंगिएको विस्तारित बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत निर्माण गर्ने बताएका छन् ।
‘संसदीय व्यवस्था संविधान निर्माणपछिको समृद्धि मार्गमा राजनीतिक अस्थिरता बाधक बन्ने, सत्ता गठबन्धन निर्माणका लागि अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको दाबी गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पुन: उठाउने जानकारी दिएका हुन् ।
यस्तै उनले निर्वाचन प्रणालीमा पनि पूर्ण समानुपातिक व्यवस्थालाई राजनीतिक एजेन्डाकै रूपमा अरू दलहरूसित संवादमा लैजाने बताए ।