१० पुस ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।
आइतबार राष्ट्रपति भण्डारीले (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेसले दावी नछाडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी, स्वतन्त्र सांसद अमरेश सिंह, किरणकुमार साह र प्रभु साहसहितको दावी राष्ट्रपति समक्ष पेश गरेका थिए ।
अध्यक्ष प्रचण्डले १६९ सांसदसहित प्रधानमन्त्रीको दाबी गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आइतवार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’
संविधानको उक्त उपधारामा प्रतिनिधिसभामा “दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्य” प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था रहेको छ ।