हुमाकान्त पोखरेल/८ जेठ ०७४, गुल्मी । जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले स्थानीय तहको सङ्ख्या बढाउने बताएको छ ।
गुल्मीको मालिका गाउँपालिकाको घमिरमा भएको जनसभालाई सम्बोधन गर्दै माओवादी केन्द्र केन्द्रियस्तरका नेताहरुले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले स्थानीय तहमा जितको सङ्ख्या बढाउने बताएका हुन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदर्शन बरालले कार्यक्रमलाई सम्बोधन गर्दै गाउँगाउँमा सिंहदरबार माओवादीको एजेण्डा सफल भएको बताए ।
उनले पहिले चरणको निर्वाचनमा देखिएको उत्साहले माओवादीको एजेण्डा सफल भएको दाबी गरे । पहिले काङ्ग्रेस, एमालेले यो एजेण्डालाई नमाने पनि पछि गएर माओवादीसँग घुँडा टेकेर यो व्यवस्थालाई स्वीकार गरेको नेता बरालले बताए ।
‘गाउँगाउँमा सिंहदरबार भन्ने एजेण्डाले माओवादी केन्द्र र सम्पूर्ण नेपाली जनताले सफलता पाएका छन् ।’ बरालले भने ‘स्थानीय तहको निर्वाचनपछि जसले जितेपनि काठमाडौंबाट तथा जिल्ला सदरमुकामबाट हुने कामहरु गाउँमै आफ्नै प्रतिनिधिहरुबाट हुन्छन् ।’
यसैगरी माओवादी केन्द्र गुल्मीका सह–संयोजक बुद्धि जिसीले पहिलो चरणको निर्वाचनमा आफूहरु दशवर्षे जनयुद्धाको एजेण्डा स्थापित गर्न लागेको बताउँदै जिततर्फ ध्यान नदिइएको बताए ।
‘पहिलो चरणको निर्वाचनमा हामीले हाम्रो दशवर्षे जनयुद्धाको एजेण्डा स्थापित गर्न सकिन्छ कि सकिन्न भन्ने उद्देश्यले जिततर्फ त्यत्ति ध्यान दिएनौ ।’ जिसीले भने, ‘केही हदसम्म एजेण्डा स्थापित भइसकेकाले अब हामी स्थानीय तहमा हाम्रो जित र सङ्ख्या बढाउने गरी चुनावको तयारी गरिरहेका छौ ।’