१६ साउन ०७४, काठमाडौं । माओवादी केन्द्रले २ नम्बर प्रदेशमा चुनावी तयारी आज देखि शुरु गर्दैछ ।
अध्यक्ष दाहालकै नेतृत्वमा २ नम्बर प्रदेशमा चुनावी अभियान संचालन गरिने जानकारी पार्टी प्रवक्ता पम्फा भुषालले गराएका हुन् ।
यसैक्रममा आज जनकपुरमा जानकी वाटीकामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रशिक्षणमा ८ जिल्लाबाट ६ सय जना अगुवा कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले जनाएको छ । जनकपुरपछि अन्य जिल्लामा पनि क्रमैसंग प्रशिक्षण र भेला आयोजना हुनेछ ।
यसअघि २ वटा चरणका निर्वाचनमा अपेक्षित स्थानमा जित हात पार्न नसकेको निष्कर्ष निकालेको माओवादी केन्द्रले २ नम्बर प्रदेशमा भने सबै शक्ति केन्द्रीत गर्ने बताएको छ ।
प्रदेश स्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका अगुवा नेता आज जनकपुर जाँदै हुनुहुन्छ ।