५ माघ, काठमाडौं । मुख्य तीन दलले मधेसी मोर्चाले राखेको समग्र मधेस दुई प्रदेशको मागलाई स्वीकार नगरेपछि माघ ५ गतेभित्र हुने भनिएको सहमति पछाडि धकेलिएको छ ।
सोमबार बसेको कार्यदल बैठकमा मोर्चाले तराई–मधेसमा दुई प्रदेशको माग गरेको र सो मागलाई कांग्रेस, एमाले र एमाओवादीले प्रतिनिधिले स्वीकार नगरेपछि तीन दलले आफ्नै प्रस्तावअनुसार संविधान संशोधन अगाडि बढाउने निचोडमा पुगेका छन् । मंगलबार दिउँसो बस्ने व्यवस्थापिका संसद्को बैठकअघि सहमति नभए तीन दलले पुरानै संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको छ ।
आन्दोलनरत मधेसी मोर्चाले आइतबार बसेको कार्यदल बैठकमा प्रस्तुत गरेको ६ बुँदे प्रस्तावलाई सकारात्मक रूपमा लिँदै तीन दलको पाँचबुँदे प्रस्तावलाई समेत आधार मान्दै सहमति गर्न कार्यदललाई आग्रह गरेका थिए ।
सहमति पछाडि धकेलिएपछि नाकामा धर्ना कडा पारियो
संयुक्त लोकतान्त्रिक मोर्चाले प्रस्तुत गरेको संविधान संशोधनसम्बन्धी कार्यविधिलाई ती दलले अस्वीकार गरेपछि मधेशका सीमा नाकामा धर्नालाई थप सशक्त बनाएको छ ।
सङ्घीय समाजवादी फोरमका नेता प्रदीप यादवका अनुसार सोमबार रातिदेखि बीरगञ्ज–रक्सौलस्थित मितेरी पुलको धर्नालाई कडा पारिएको छ ।