
संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादव लगायत समितिका सदस्यहरु, सप्तरीमा पत्रकार सम्मेलन गर्दै
२७ माघ, सप्तरी । संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादवले बुधबार सप्तरी सदरमुकाम राजबिराजमा पत्रकार सम्मेलन गरेर मधेसवादी भन्ने नेताहरुले मधेस मुक्तिको भ्रम छर्दै मधेसी जनतालाई आन्दोलनमा होमेर बर्बाद पारेको बताए ।
प्रतिकृयावादी शासकहरुको मिलोमतोमा मधेशी मोर्चाले आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउँदै यादवले भने– ‘मधेशी मोर्चाले सहिदहरुको अपमान गर्दै उत्पीडित मधेसी समुदायलाई धोका दिएको छ ।’
‘मधेस आन्दोलनमा सत्ताधारीहरुले मण्डले राष्ट्रवादमा फसाएर पहाडी जनतालाई तस्करी र कालाबजारीको शिकार बनाए’ पत्रकार सम्मेलन मातृकाले भने– ‘आफूलाई मधेसवादी भन्ने नेताहरुले मधेस मुक्तिको भ्रम छर्दै मधेसी जनतालाई आन्दोलनमा होमेर बर्बाद पारे ।’
संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको सिराहामा माघ २५ र २६ गते बसेको बैठकको निर्णय राजविराजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मातृका नेतृत्वको मोर्चाले छुट्टै कार्यक्रम समेत घोषणा गरेको छ ।
यादवको मोर्चाले फागुन १ गतेसम्म सबै जिल्लामा जिल्ला समितिहरु गठन गरिसक्ने, ३ गते सबै जिल्लामा बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
यसैगरी फागुन ५ गते सबै जिल्लामा सर्वपक्षीय अन्तरक्रिया गर्ने, ८ गते सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने, ९ गते राजविराज, जनकपुर र वीरगंजमा विश्व मातृभाषा दिवस कार्यक्रम मनाउने, ११ गते काठमाडौंमा अन्तरक्रिया गर्ने बताएको छ । यस्तै फागुन १३ गते मोरङको रंगेलीमा आमसभा गर्ने, बस्ने र चैत १९, २० र २१ गते सप्तरीमा राजनीतिक सम्मेलन गर्ने निर्णय गरेको छ ।