मातृभाषामाथि दमन गरेको भन्दै विरोध, इन्द्रचोकमा मैनबत्ती जुलुस

१८ फागुन ०७७, काठमाडौं । ‘उपत्यका सडक विस्तार पीडित संघर्ष समिति’ तथा बृहत् नागरिक आन्दोलनले मंगलबार साँझ काठमाडौंको इन्द्रचोकमा मैनबत्ती जुलुस गरेको छ ।

सर्वोच्च अदालतको आदेशमा बालाजु सडक विस्तारको विरोधका पक्राउ परेका अभियन्ताहरू रिहा भएको खुसियालीमा मैनबत्ती जुलुस गरेको हो ।

संघर्ष समिति तथा नागरिक आन्दोलनले देश संघीय गणतन्त्रमा गइसक्दा पनि न्याय अनुभूत नभएको भन्दै सांकेतिक विरोधस्वरुप निकालेको मैनबत्ती जुलुस इन्द्रचोक आकाश भैरवअगाडि जम्मा भएका थिए ।

उपत्यकाका वासिन्दा, अधिकारकर्मी तथा अभियन्ताहरूले मातृभाषामाथि दमन गरेको भन्दै विरोध गरेका छन् । उनीहरूले मातृभाषा बोलेकै आधारमा एक सातासम्म अधिकारकर्मीलाई पक्राउ गरिएको भन्दै त्यसलाई प्रतिगमी कदम समेत भनेका छन् ।

सभा चल्दै गर्दा अदालतबाट रिहा भएका सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठ इन्द्रचोक आइपुगेपछि उनीहरूलाई त्यहाँ उपस्थित समूहले खादा, माला र अबीर लगाएर स्वागत गरेको थियो । त्यसपछि मैनबत्ती जुलुस बसन्तपुर, क्षेत्रपाटी हुँदै कालीमाटीतर्फ अघि बढेको थियो ।