मारुती सिमेन्ट, पासवान परिवारलाई ७ लाख ५१ हजार क्षतिपूर्तिसहित रोजगारी दिन सहमत

२७ मंसिर ०७६, सिराहा । मारुती सिमेन्टमा कार्यरत मजदुर अनिता देवी पासवान आत्महत्या प्रकरणमा व्यवस्थापन पक्ष पीडित परिवारलाई क्षतिपूर्ति दिन र छानबिनमार्फत् दोषीउपर कारवाही गर्न सहमत भएको छ ।

सिराहाको गोलबजारस्थित मारुती सिमेन्टमा कार्यरत मजदुर अनिता देवीले आत्महत्या गरेपछि विकसित घटनासँगै शुक्रबार भएको छलफलबाट व्यवस्थापन पक्ष पीडित परिवारलाई क्षतिपूर्तिसहित परिवारका दुई जना सदस्यलाई रोजगारी दिन छानबिनमार्फत् दोषीउपर कारवाही गर्न र कारवाही परेका मजदुरकाे कारवाही फिर्ता लिन साथै खाइपाई अाएकाे सुविधा कटाैती नगर्न सहमत भएको हो ।

अन्टुफ प्रदेश नं. २ का अध्यक्ष अर्जुन चिमरियाले दिएको जानकारी अनुसार मारुती सिमेन्ट लिमिटेडले पीडित परिवारलाई ७ लाख ५१ हजार दिने सहमति जनाएको छ । सिमेन्ट उद्योगले ७ लाख रुपैयाँ क्षतिपूर्ति वापत र ५१ हजार रुपयाँ किरिया खर्च पीडित पक्षलाई दिन सहमति गरेसँगै विवाद समाधान समेत भएको छ ।

अध्यक्ष चिमरियाले अनितादेवी आत्महत्या प्रकरणका दोषी पत्ता लगाई छानबिन गर्न मारुती सिमेन्ट व्यवस्थापन पक्ष सहमत भएको बताए । साथै, उनले ७ सदस्यीय छानबिन कमिटी गठन गरिएको जानकारी पनि दिए ।

उक्त छानबिन कमिटीमा गोलबजार नगरपालिका वडा नं. ९ का अध्यक्ष रामपुकार कामती, अखिल नेपाल ट्रेड युनियन महासंघ सिराहाका इन्चार्ज श्याम सुन्दर कामती, औधोगिक मजदुर मारुती सिमेन्ट इकाईबाट उपेन्द्र महतो, प्रदीप यादव, स्थानीय समाजबाट पवित्र नारायण यादव, चन्देश्वर पास्वान र सिमेन्ट उद्योगबाट मोहन शर्मा रहेका छन् ।

अनिता देवी आत्महत्या प्रकरणमा मारुती सिमेन्ट व्यवस्थापनले श्रम ऐन २०७४ को दफा १३१ को उपदफा ४(क)को दुरुपयोग गरी आत्महत्या दुरुत्साहन गरेको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ, महासंघ २ नम्बर प्रदेश, अखिल नेपाल औधोगिक मजदुर संघ लगायतका संघ-संस्थाले घटनाको दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित परिवारका सदस्यलाई रोजगारी दिन माग गर्दै प्रेस वक्तव्य जारी गरेको थियो ।

मारुती सिमेन्ट सिराहामा स्थापना भएदेखि त्यही उद्योगमा कार्यरत ४५ वर्षीया अनितदेवी पासवानलाई यही मंसिर २३ गते व्यवस्थापन पक्षले निश्कासन कारवाहीको पत्र थमाएपछि २४ गते उद्योगमा पुगेकी पासवानमाथि दुव्र्यवहार भएपछि २४ गते राती उनले उद्योगको नजिकै रहेको रुखमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।