१५ भदौ ०८०, कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाभित्र मन मिल्ने पार्टीका बीचमा मिल्न रोक नलगाइएको बताएका छन् ।
अध्यक्ष नेपालले शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै उनले भने, ‘म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरु विलिन हुनेछन् । हाम्रै पार्टीभित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलिन हुने हो कि भनेर । अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला । जताजता मिल्न मन लागेको छ, उहाँहरुलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ ।’
संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गर्दै अध्यक्ष नेपालले आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिए ।