मुख वा सासको दुर्गन्धलाई कसरी हटाउने ?

४ वैशाख, काठमाडौं । तपाईंको छेउछाउका व्यक्ति आफ्नो नाक थुनेर तपाईंसँग कुरा गर्छन् ? साथीहरूले ‘हजुरको मुख गन्हाउँछ’ भनेका त छैनन् ?  यदि भनेका छन् भने मुख गन्हाउने समस्यालाई हल्का ढंगले नलिई मुखको दुर्गन्ध हटाउन चिकित्सकीय लगायतका प्रयास थाल्नुस् ।

वेब तस्बिर

वेब तस्बिर

मुख वा सासको दुर्गन्धलाई चिकित्सकीय भाषामा ‘हयालिटोसिस’ भनिन्छ । यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ । मुखमा दुर्गन्ध उत्पन्न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा, थुक र खुन लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो । यी सबैको बीच जब प्रोटिन टुट्छ तब सल्फर नाउँ गरेको तत्त्व उत्पन्न हुन्छ । जसको गन्ध धेरै असह्य हुन्छ ।

मुखको सरसफाइबाहेक कहिलेकाहीं गिजाको विभिन्न रोग हुँदा, जिब्रोमा जीवाणु जम्दा, सफा नक्कली दाँत (डेन्चर) क्लिप नलगाउनु, मुखमा घाउ हुनु, गलत रूपले दाँत भर्नु, प्याज र लसुन आदि खाद्य पदार्थको उपयोग, लामो समयसम्म औषधि सेवन गर्नु, जटिल रोगसमेत मुख गनाउने कारक हो ।

कसै-कसैमा घाँटीको संक्रमणले गर्दासमेत मुख गन्हाउँछ । ८० प्रतिशतसम्म मुख गन्हाउने कारण दाँतको बीच खाना अडकएर कुहिएर हो ।

अमेरिकन डेन्टल एसोसिएसन (एडीए) को तथ्यपत्र अनुसार, अपर्याप्त दाँतको सरसफाइ, मुखको संक्रमण, सास नलीको संक्रमण, लसुन, प्याज, धूमपान, मद्यपानजस्ता बाहय स्रोत, सुक्खा मुख, मधुमेह/मृगौला/फोक्सो/कलेजो/पिनास लगायत बिरामीसँगै मानसिक बिरामी हुनु मुख दुगन्धको कारण हुन सक्छ ।

मुखमा दुर्गन्ध आउनुको मुख्य कारण दाँतको उचित सरसफाइ नहुनु नै हो । मुखको सरसफाइको राम्ररी ख्याल गर्दा सजिलै जान्छ ।

जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत गन्हाउने समस्या कम हुन्छ ।  दुर्गन्धबाट बच्न खाना खाएपछि ब्रस गर्न नसके पानीले राम्ररी कुल्ला गर्नुपर्छ । यस्तै, चिनीरहित चुइँगम चपाउँदा पनि मुखमा र्‍याल आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन ।

मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा यसले बास्नाभन्दा पनि मुखमा र्‍यालको प्रवाहलाई कायम गर्दा मुख गन्हाउने समस्या कम हुन्छ । यदि समस्या जटिल वा सामान्य सरसफाइले समेत निको नभए दन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

मुखमा दुर्गन्ध आउँछ, हटाउन के गर्ने ?

  • बिहान र राति खाना खाइसकेपछि दाँत माझ्ने ।
  • सम्भव भए केही खाएपिच्छे ब्रस गर्ने ।
  • दाँत माझ्दा जिब्रो सफा गर्न नबिर्सने ।
  • दाँतमा फसेका अन्नकण हटाउन डेन्टल फ्लस गर्ने ।
  • दाँत र गिजामा रोग भए, मुख सुक्खा हुने समस्या भए दन्त चिकित्सकमा जाने ।
  • पानी र अन्य तरल पदार्थ प्रशस्त मात्रामा खाने ।
  • ल्वाङ, सुकमेल आदि बेलाबेला चपाउने ।
  • खानामा रेसायुक्त फलफूल र सागसब्जीको उपयोग गर्ने ।

तपाइको मत