९ असार ०७९, काठमाडौं । राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको जानकारी दिँदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने बताए ।
उनले असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस, असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको बताए ।
असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, असार २७ गते जनक शिक्षा सामग्री केन्द्र र उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउनेसाथै असार ३१ गते महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिइने राप्रपाको कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।