२५ बैशाख ०७५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २५ जना भारतीय सुरक्षाकर्मी नेपाल आएका छन् ।
मोदीको भ्रमणभन्दा चार दिनअघि सोमबार भारतीय वायुसेनाको विमानमा सुरक्षा अधिकारीहरू जनकपुर आएका हुन् । जनकपुर आएलगत्तै भारतीय सुरक्षाकर्मीले वायुसेनाको जहाजबाटै भ्रमण क्षेत्रको अवलोकन गरेको थियो ।
सुरक्षाको सबै जिम्मा आयोजक राष्ट्रको हुने भए पनि मोदीको भ्रमणलाई लिएर भारतीय सुरक्षा निकायले चासो राखेको देखिएको आजको नागरिकमा खबर छ । भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा अधिकारीले मुक्तिनाथ र काठमाडौंमासमेत निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दियो ।
भारतीय वायु सेनाको विमान सोमबार जनकपुरबाट नेपाल प्रवेश गरेको थियो । दिउँसो करिब १ः१५ बजे दिल्लीबाट आएको उक्त विमान जनकपुरमा अवतरण गरी सुरक्षा अधिकारीलाई नेपाल छाडेर गएको हो । वैशाख २८ गते बिहान भारतीय प्रधानमन्त्री मोदी बिहारको राजधानी पटना हुँदै जनकपुर आउँदैछन् । उनको सुरक्षामा जनकपुरमा मात्रै ७ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सुरक्षामा परिचालित हुनेछन् ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गोकुल भण्डारीले नेपाल सरकारको समन्यवमा भारतीय वायुसेवाको विमान नेपाल आएकोबारे आफूहरूको कुनै धारणा नरहेको बताएका छन् । ‘अतिविशिष्ट व्यक्तिहरूको भ्रमण र त्यसको सुरक्षा व्यवस्था आयोजक राष्ट्रकै हुने भएकाले हाम्रो तर्फबाट सुरक्षा व्यवस्था चुस्त पारिएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथि भण्डारीले भने ।
उनले भिभिआइपीको भ्रमण र त्यसको सुरक्षामा सम्बन्धित देशले चासो राख्नु स्वाभाविक भएको बताउँदै सरकारकै समन्वयमा विमान अवतरण गर्नु समान्य नै भएको बताए । ‘हाम्रो तर्फबाट सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुँदैन । अति विशिष्ट व्यक्तिको भ्रमणमा तथा त्यसको सुरक्षाका विषयमा नेपाली सेनाले आवश्यक तयारी गरिरहेको छ,’ भण्डारीले भने ।
सु्रक्षाविद् एवं नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले विमान लिएर भारतीय सुरक्षा अधिकारी नेपाल आउनु गलत भएको बताए । ‘दुईचारजना आउनु सामान्य प्रक्रिया भए पनि २५ जनाको टोली विमान लिएर आउँदा नेपालको सुरक्षा व्यवस्थाप्रति अविश्वास गरेको जस्तो देखियो,’ उनले भने ।
गत वैशाख १४ र १५ गते भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा गएको बेला यसरी विमान लिएर भारतीय सुरक्षा अधिकारी त्यहाँ गएका थिएनन् । प्रधानमन्त्रीको मोदीको निजी सुरक्षा गार्ड र सुरक्षा समन्वयका लागि तीनजना सुरक्षा अधिकारी चीन गएका थिए । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका गएका बेला पनि निजी सुरक्षा गार्ड र सुरक्षा समन्वयका लागि एकजना सुरक्षा अधिकारी भारत गएका थिए ।