१ कार्तिक ०७९, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार बिहान सम्पन्न म्याराथन स्पर्धाको महिलातर्फ विन्द्रा धन्के श्रेष्ठ देसारले स्वर्ण पदक जितेकी छन् ।
एपीएफकी धावक उनले २ घण्टा ५७ मिनेट २३ सेकेण्डमा ४२.१९५ किलोमिटर दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेण्डमा उक्त दुरी पार गर्दै रजत पदक हात पारिन् भने नेपाल पुलिसकी रेखा विष्टले ३ घण्टा १ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गरी कास्य पदक जितिन् ।
विगत १६ वर्षदेखि व्यवसायिक खेलाडीका रुपमा रहेकी विन्द्रा हाफ म्याराथनमा नेपालका स्थापित धावकमध्ये एक हुन् । उनले खेलमा सहभागी हुन ८ वर्षीया छोरीलाई ललितपुरस्थित घरमै छाडेर गएकी थिइन् ।
म्याराथनमा आफूले जितेको स्वर्ण पदक छोरीकै लागि समर्पित गर्दै विन्द्राले आफूलाई छोरी भेट्न हतार भएको बताउँदै भनिन्, ‘छोरी घरमा मेरा लागि प्रार्थना गरेर बसेकी छन् ।’