१२ पुस, सप्तरी । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले संविधान संसोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो संकट ल्याउन खोजेको आरोप लगाएका छन् ।
पार्टीको जिल्ला कार्यसमितिले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले संघीयता नै सिध्याएर मुलुकमा संकट ल्याउन लागि परेको आरोप लगाएका हुन् ।
‘संविधान संसोधनको विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो’ उनले भने, ‘यथास्थितिमा हामी संविधान स्वीकार गर्न नसक्ने र एमालेले परिवर्तन स्वीकार गर्न नसक्ने भएपछि मुलुकमा जटिलता थप हुँदै गएको छ ।’
एमालेको हठले लामो समयसम्म संविधान संसोधन अवरुद्ध भए मधेशी जनताले उक्त संविधान नै खारेज गर्ने यादवले चेतावनी समेत दिएका थिए ।
‘संघीयता र समावेशी जस्ता विषयलाई आत्मसात गरेको संविधान खारेज गरेर २०४७ सालकै संविधान व्यूताउन त खोजेको होइन ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने–‘समयको रफ्तार सधैं अगाडि बढ्छ, पछाडि जाँदैन’ भन्दै २०७३ बाट २०७४ आउने तर २०४७ नआउने बताए ।