५ साउन ०७८, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को यादव–भट्टराई समूहले ठाकुर–महतो समूहलाई जनतामाझ माफी मागे एकताको पहल गर्न सकिने जनाएको छ ।
मंगलबार बसेको जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको बैठकले यस्तो जनाएको हो ।
यादव–भट्टराई समूहका सांसद प्रदीप यादवले आजको बैठकले सार्वजनिक रुपमा महन्थ ठाकुर पक्षले जनतासँग माफी नमागेसम्म एकताको सुरु नहुने निष्कर्ष निकालेको जानकारी दिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सोको विरोधमा उत्रिएको महन्थ ठाकुर र राजेन्द्र महतोहरु दोस्रो पटक संसद विघटन हुँदा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग मिलेर सरकारमा समेत सहभागी भएपछि जसपाको पार्टी विवाद आधिकारिकताका लागि निर्वाचन आयोगमा पुगेको छ ।
आज यादव समूहको संसदीय दलले विधान पारित गरेको छ भने सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रकृया सुरु गरिने सांसद यादवले बताए ।