१३ कार्तिक ०८०, कास्की । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेस पर्यटकीयनगरी पोखरा पुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा पोखरा पुगेका महासचिव गुटरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले स्वागत गरेका छन् ।
महासचिव गुटरेसलाई सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाजको उपस्थितिमा स्वागत गर्दै मुख्यमन्त्री पाण्डेले खादा-माला र मेयर धनराज आचार्यले ढाका टोपी लगाइदिएका थिए ।
महासचिव गुटेरेस आज सोमबार लेकसाइडको फिस्टेल लजमा बास बस्नेछन् भने भोलि मंगलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका रहेको छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार अन्नपूर्ण आधार शिविरमा महासचिव गुटरेसले जलवायु परिवर्तन सम्बन्धी भिडियो सन्देश रेकर्ड गर्नु हुनेछ साथै मंगलबार नै लुम्बिनी जाने कार्यक्रम तय भएको छ ।