युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरु दशैँमा समेत रिले अनसनमा

१० कार्तिक ०८०, काठमाडौं । भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरु कलेजका प्रिन्सिपलको राजीनामा माग गर्दै १२ दिनदेखि रिले अनसनमा छन् ।

प्राडा लक्ष्मी पाठकको राजीनामा माग गर्दै वडादशैँको अवधिमा समेत विद्यार्थीहरू कलेज परिसरमा रिले अनसन बसेका हुन् ।

मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि गोजीबीनाको पहेँलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेको थियो ।

विद्यार्थीहरूले ड्रेसकोड अव्यवहारिक रहेको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए । तर, कलेज प्रशासन उक्त निर्णयबाट पछि नहट्ने भएपछि विद्यार्थीहरू प्रिन्सिपलको राजीनामा एकसुत्रीय माग बनाई अनसननै बसेका हुन् ।