राजनीतिक दलसम्बन्धी ऐन पहिलो संशोधन विधेयक बहुमतले पारित

२९ जेठ ०७४, काठमाडौं । व्यवस्थापिका–संसदबाट राजनीतिक दलसम्बन्धी ऐन पहिलो संशोधन विधेयक बहुमतले पारित भएको छ ।

नयाँ दल दर्ता र चुनाव चिह्नको विषयमा सहमति नभएसम्म निर्वाचनमा जान नसकिने बताउँदै आएको राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधनका लागि सरकारले नियमित प्रक्रिया निलम्बन गरी संशोधन विधेयक पारित गरेको हो ।

आइतबार एकै दिन उक्त ऐन संशोधनका लागि तीनपटक संसद् बैठक बसेको थियो भने केही नियमावली नै निलम्बन गरिएको थियो ।

विधेयक पारित भएसँगै राजपा नेपालले पार्टी एकीकरण अगाडिका कुनै निर्वाचन चिह्न लिएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ ।

तर एउटा जिल्लामा एउटा मात्रै निर्वाचन चिह्न लिन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ पछि ७ ‌(क) थप गरिएको छ ।

पारित विधेयकमा नाम, झन्डा वा चिह्न तोकिइसकेका कुनै दल निर्वाचन मिति घोषणा भएपछि एकीकरण वा गाभिनुअघि साबिकको दल कायम रहँदा प्रयोग गरेको कुनै नाम तथा झन्डा र सो दलले प्रयोग गरेका एक वा एकभन्दा बढी चिह्न वा मतपत्रमा रहेका चिह्नमध्ये आयोगले निर्धारण गरेको चिह्न उपदफा (१) बमोजिम गरेको सम्झौताको अधीनमा रही प्रयोग गर्न पाउने उल्लेख छ ।

यसैबीच संसद्को बैठक १८ असारसम्मका लागि स्थगित भएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै सरकारले १८ असारसम्मलाई सदन स्थगित गर्ने सभामुखसँग आग्रह गरेको थियो ।

तपाइको मत