राजपाको महासचिव, सहमहामन्त्री, प्रवक्ताहरुको जोड चुनावतिर !

१० साउन ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको महासचिव, सहमहासचिव र प्रवक्ताहरुको बैठकले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा भाग लिन जोड दिएका छन् ।

दुई दिनसम्म चलेको बैठकमा महासचिव, सहमहामन्त्री तथा प्रवक्ताहरुले आफ्नो धाराण राख्ने क्रममा चुनावमा भाग लिनुपर्ने कुरामा नै विशेष जोड दिएका हुन् ।

स्रोतकाअनुसार संयोजक महन्थ ठाकुर लगायतका नेताहरुको उपस्थितिमा भएको छलफलमा बोल्ने अधिकांश महासचिव तथा सहमहासचिवहरुले सधैँ आवेगको राजनीति नचल्ने भन्दै संगठन निर्माण र चुनावमा जानुपर्ने सुझाव दिएका छन् ।

राजपा नेपालका महासचिव जितेन्द्र सोनलले अगामी चुनावका लागि पनि पार्टीले स्थानीय तहको चुनावमा भाग लिनुपर्ने सुझाव दिएका छन् ।

अर्का महासचिव मनिष सुमनले सविधान संशोधन नभएसम्म चुनावमा भाग लिदैँनौ भन्नु नै राजपा नेपालका लागि गलत भएको धारणा राखेका थिए ।

अर्का महासचिव केशव झाले पनि तेस्रो चरणमा भइरहेको स्थानीय तहको चुनावमा भाग लिनु नै पार्टीका लागि हितकर हुने सुझाव दिएका थिए ।

साउन १८ गतेदेखि पदाधिकारीको र २१ गतेदेखि केन्द्रीय समितिको बैठकमा पनि यी सुझावहरुको बारेमा छलफल हुने बताइएको छ  । भोलिदेखि सहअध्यक्ष, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको बैठक बोलाएर यो विषयमा छलफल हुने बताइएको छ ।

राजपा नेपालमा ३१ जना महासचिव, ३४ जना सहमहासचिव र ८ जना प्रवक्ता रहेका छन् ।

तपाइको मत